आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रचण्डजी तपाईँकाे बोलीमा तथ्य होइन, कुन्ठा मात्र देखिन्छ : महासचिव पोखरेल

आइतबार, बैशाख २८ २०८२

काठमाडाैं ।नेकपा एमाले महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको बताएका छन् ।

जसका कारण प्रचण्डको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिएको उनले टिप्पणी गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन् ।

प्रचण्डले सरकारबारे गरेको टिप्पणी र सरकार डरले रुझेको बिरालो जस्तै बनेको भन्ने अभिव्यक्तिको जवाफ स्वरुप महासचिव पोखरेलले सरकारका उपलब्धि प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने कुरा एउटा पनि नगरेको बताएका थिए। ‘यो सरकारको रुझेको बिरालोको हालत भएको छ,’ उनले भनेका थिए, ‘सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ।’

महासचिव पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको भन्दा अहिले राजश्वमा उल्लेख वृद्धि भएको जनाएका छन् ।

उनले विदेशी मुद्राको सञ्चिती बढेको, शोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको बताएका छन् ।

यस्तै, निर्माण व्यवसायीलाई काम वापतको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तिव्रता आएको लगायत १२ बुँदे उपलब्धि उल्लेख गरिएको छ ।

उनले लेखेका छन्, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ? यी तथ्यहरूले तपाईको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ : तपाईं प्रधानमन्त्री हुँदाभन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ, विदेशी मुद्राको संचिति बढेको छ, सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ र निर्माण व्यावसायिलाई काम वापतको तपाईंको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ,’ उनले लेखेका छन्, ‘निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आदि । भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ । बैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ । कानून निर्माणको कामले तीव्रता पाएको छ । कानूनी सुधारको प्रकृयाबाट लगानी योग्य वातावरण तयार भएको छ । कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ । भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’