सन्तुलित सम्बन्ध कायम राख्न नेपाललाई चुनौती
काठमाडौं । पछिल्लो समय भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको उसकाे दाबी छ ।
सिन्दुर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ ।
पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा कम्तिमा ३१ जना पाकिस्तानी तथा भारतले पनि पाकिस्तानबाट भएको सीमापार आक्रमणमा एक सैनिकसहित १३ जनाको ज्यान गएको जनाएको छ ।
यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको भनिएकाे छ, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएकाे छ ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।’
यता पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरे र बलियो जवाफ दिने चेतावनी दिएका छन्। यी दुइबीचकाे भनाइले भारत- पाकिस्तानबीच द्वन्द्व चर्किदै जाने देखिन्छ ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।’
नेपालमा बहुआयामिक प्रभाव
भारत र पाकिस्तानबीचको द्वन्द्वले नेपालमा बहुआयामिक प्रभाव पार्न सक्छ । यी दुई देश नेपालका महत्वपूर्ण छिमेकी हुन् र दक्षिण एसियामा उनीहरूको सम्बन्धको उतारचढाव नेपाललाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्छ । नेपालले दुवै देशसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने चुनौती थपिन सक्छ ।
कुनै एक पक्षलाई समर्थन गर्दा अर्को पक्षसँगको सम्बन्ध बिग्रन सक्ने जोखिम हुन्छ । नेपालले असंलग्न परराष्ट्र नीति अपनाए पनि क्षेत्रीय शक्तिहरूको द्वन्द्वले कूटनीतिक दबाब सिर्जना गर्न सक्छ। दुई ठूला छिमेकी राष्ट्रहरूबीचको द्वन्द्वले सम्पूर्ण दक्षिण एसियामा अस्थिरता ल्याउन सक्छ। यसले नेपालको सुरक्षा वातावरणलाई पनि अप्रत्यक्ष रूपमा प्रभावित गर्न सक्छ। सीमा क्षेत्रमा सुरक्षा चुनौतीहरू बढ्न सक्ने सम्भावना रहन्छ।
भारत र पाकिस्तानबीचको द्वन्द्वले नेपालको आन्तरिक राजनीतिमा पनि ध्रुवीकरण ल्याउन सक्छ। विभिन्न राजनीतिक दल र समूहहरूले यस विषयमा फरक–फरक धारणा राख्न सक्छन्, जसले सामाजिक सद्भावमा खलल पुर्याउन सक्छ। दुवै देशमा नेपालीहरूको रोजगारी र बसोबास रहेको छ। द्वन्द्वको अवस्थामा उनीहरूको सुरक्षा र कल्याणमा चुनौती आउन सक्छ।
नेपालले सधैँ भारत र पाकिस्तानबीच शान्ति र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ। सार्क जस्ता क्षेत्रीय संगठनहरूमा नेपालले दुवै देशलाई एकसाथ ल्याउने प्रयास गर्न सक्छ। असंलग्न परराष्ट्र नीतिलाई पालना गर्दै नेपालले क्षेत्रीय शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका खेल्न सक्छ।
भारत र पाकिस्तानबीच नेपालले सन्तुलित सम्बन्ध कायम राख्नु नेपालको राष्ट्रिय हितका लागि अत्यन्त महत्त्वपूर्ण छ। यसका केही प्रमुख कारणहरू यहाँ प्रस्तुत गरिएको छ:
भूराजनीतिक अवस्थिति: नेपाल दुई विशाल र शक्तिशाली छिमेकी राष्ट्रहरू (भारत र चीन ) को बीचमा अवस्थित छ। भारतसँग खुला सिमाना र गहिरो सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्ध रहेको छ। पाकिस्तानसँग सिधा सिमाना नभए पनि दक्षिण एसियाको भूराजनीतिमा उसको महत्त्वपूर्ण भूमिका छ। यस्तो संवेदनशील अवस्थितिमा नेपालले कुनै एक देशतर्फ ढल्कँदा अर्को देशसँगको सम्बन्ध बिग्रन सक्ने जोखिम हुन्छ, जसले नेपालको हितमा आँच आउन सक्छ।
आर्थिक निर्भरता: नेपालको अर्थतन्त्र धेरै हदसम्म भारतसँग जोडिएको छ। व्यापार, पारवहन, लगानी र रोजगारीका लागि लाखौं नेपाली भारतमा निर्भर छन्। तर, पाकिस्तान पनि दक्षिण एसियाको एक महत्त्वपूर्ण आर्थिक शक्ति हो र क्षेत्रीय व्यापार तथा लगानीका अवसरहरूमा नेपालले ध्यान दिनुपर्ने हुन्छ। कुनै एक देशसँग मात्र निर्भर हुँदा नेपालको आर्थिक विकासमा जोखिम बढ्न सक्छ।
असंलग्न परराष्ट्र नीति: नेपालले सधैँ असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको छ। यस नीतिको मूल मर्म नै कुनै पनि शक्ति राष्ट्रको पक्षमा नलागी आफ्नो स्वतन्त्र पहिचान र राष्ट्रिय हितलाई सर्वोपरी राख्नु हो। भारत र पाकिस्तानबीचको द्वन्द्वको अवस्थामा कुनै एक पक्षलाई समर्थन गर्दा नेपालको यो नीति कमजोर हुन सक्छ।
क्षेत्रीय शान्ति र स्थिरता: नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य राष्ट्र भएको नाताले यस क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न चाहन्छ। भारत र पाकिस्तानबीचको द्वन्द्वले सम्पूर्ण क्षेत्रको शान्ति र विकासमा नकारात्मक असर पार्न सक्छ। यस्तो अवस्थामा नेपालले दुवै देशलाई संवाद र सहकार्यका लागि प्रेरित गर्ने भूमिका खेल्नुपर्छ।
राष्ट्रिय हितको संरक्षण: नेपालको राष्ट्रिय हित दुवै छिमेकी राष्ट्रहरूसँग सुमधुर सम्बन्ध कायम राख्दा नै सुरक्षित रहन्छ। सन्तुलित सम्बन्धले नेपाललाई दुवै देशबाट सहयोग र सद्भाव प्राप्त गर्न मद्दत गर्छ, जसले नेपालको विकास र समृद्धिमा योगदान पुर्याउँछ।
भारतले पाकिस्तानमा रहेका आतंकवादी समूहहरूलाई आफ्नो भूमिमा हुने आक्रमणमा संलग्न भएको आरोप लगाउँदै आएको छ। पाकिस्तानले भने आफ्नो भूमि आतंकवादका लागि प्रयोग हुन नदिने दाबी गरेको छ। यो मुद्दा दुई देशबीचको सम्बन्धमा मुख्य अवरोध बनेको छ। कश्मीर दुवै देशबीचको विवादको मुख्य जड हो। भारतले जम्मू कश्मीरको विशेष दर्जा खारेज गरेपछि पाकिस्तानले यसको कडा विरोध गरेको छ र अन्तर्राष्ट्रिय स्तरमा यो मुद्दा उठाएको छ।
भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् ।
सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिकाे बैठक
भारत र पाकिस्तानबिच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी ओलीले विहीबार सुरक्षा परिषद्को बैठक राखेका थिए ।
बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा सहभागी थिए ।
भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपालमा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल भएको थियो ।
यसअघि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विहीबारनै गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।
विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।
मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको थियो ।