मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँको सडकमा गत वैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौँ फर्किएको छ ।
भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि बुधबार नै काठमाडौँमा फर्किएको हो ।
टोली प्रमुख नारायण अधिकारीले उक्त स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको ‘रिपोर्ट’ अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताए ।
भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरिएको भएपनि उक्त बस्तुको कति गहिराइबारे पत्ता लागेको छैन ।
टोलीले मङ्गलबार र बुधबार उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिए । उनका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारीसाधनको क्षति हुन नदिन प्रहरीले सुरक्षा घेरामा राखेको छ ।
गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी कच्ची सडकको हिलोमा फसेको र केही बेरमै जमिनमुनि बेपत्ता भएको थियो । सडक नजिकै स्थानीय हरि राईले बोरिङको लागि खनेको पानीसहितको खाल्डोमा गाडी डुबेको थियो । गाडी धनी र उनका सहयोगी हामफालेर जोगिन सफल भएका थिए ।