आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गाडी भासिएको जमिनको अध्ययनका लागि विज्ञकाे टोली हेटौंडा पुग्यो

मंगलबार, बैशाख २३ २०८२

हेटौंडा।गत शुक्रबार जमिनमुनि गाडी भासिएर हराएको घटनाबारे अध्ययन गर्न गठित खानेपानी तथा भूगर्भ सम्बन्धी विज्ञ टोली हेटौडा पुगेको छ।

हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाका अनुसार टोली मंगलबार बिहान हेटौडा आइपुगेको हो र घटनास्थलको अध्ययन कार्य सुरु गरिसकेको छ।

मंगलबार बिहान हेटौडा पुगेको भूगर्भविद् नारायण अघिकारी र कृष्ण पाण्डेसहितको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन सुरु गरेको हो ।

विभागका भूगर्भविद् नारायण अधिकारीले टोलीले घटनास्थलको भौगोलिक अवस्था, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र र घटनाको कारणबारे बारेमा अध्ययन गर्ने जानकारी दिए ।

टोलीले घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी गरेको छ ।

गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडकमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।

सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन । गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ । त्यो खाल्डो धमिलो पानीले भरिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको थियो । गाडीका चालक र सहचालकले भागेर ज्यान जोगाएका थिए ।