प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि गत १४ वैशाखमा उनीहरूकाे ७ दिन म्याद थपिएको थियो ।
प्रहरीले संगठित अपराध र राज्यद्रोह अनुसन्धानमा मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । जहाँ मिश्रलगायतले प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।
यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो ।