काठमाडौं । भारतीय विदेश मन्त्रालयले भारतको उडिसास्थित किट युनिभर्सिटीमा नेपाली छात्रा प्रिशा शाहको निधनलाई लिएर गहिरो शोक व्यक्त गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मृतकका परिवारप्रति समवेदना पनि प्रकट गरेको छ ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।
‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’
विज्ञप्तिमा भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत भनिएको छ । ‘यस विषयमा हामी नेपाली अधिकारी, ओडिसा सरकार तथा केआईआईटी व्यवस्थापनसँग हामी निरन्तर सम्पर्क र समन्वयमा छौं ।’
वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय शाह स्नातक प्रथम वर्षमा अध्ययरत विद्यार्थी थिइन् ।
उनको मृत्यु भएको खबर पाएलगत्तै भूवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो । त्यसपछि शवलाई अस्पताल पठाइएको थियो भने घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको भनिएको छ ।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । विहीबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् ।