काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।
काठमाडौंमा २७ दिनदेखि जारी आन्दोलनपछि शिक्षा मन्त्रालय र महासङ्घका पदाधिकारी वैशाख १७ गते ९ बुँदेसहित भई आन्दोलन स्थगित गरिएको थियो । तर विद्यालय कर्मचारी परिषद्ले विभिन्न शिक्षक संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्ता गरिएको भन्दै विरोध जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन् ।
नेपाल शिक्षक महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको अध्यक्ष गंगाराम तिवारीले बताए ।
पत्रकार सम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले परिषद्ले महासङ्घको नेतृत्वले निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने, मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड मावि द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सहजातिय सेवा सुविधाजन्य गतिविधिमा तिब्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाएको जानकारी दिए ।
विद्यालय कर्मचारी परिषद्ले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउनुपर्ने, तलबमान कायम गराउनुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमै शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
संयोजक मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।
वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनको बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने र जेठ १० गतेदेखि काठमाडौंस्थित माईतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।