शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आरआरको स्ववियु निर्विरोध निर्वाचनलाई लिएर नेविसंघले सोध्यो ६ नेतालाई स्पष्टीकरण

शुक्रबार, बैशाख १९ २०८२

काठमाडौं । आरआर क्याम्पस प्रदर्शनीमार्गको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघ अनुशासन समितिले ६ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

नेविसंघ अनुशासन समिति संयोजक परोपकार अधिकारीले २ जना केन्द्रीय सदस्यसहित नेविसंघका ६ जना नेतालाई ४८ घन्टे स्पष्टीकरण सोधेका हुन्।

स्पष्टीकरण सोधिनेहरुमा २ केन्द्रिय सदस्य अशोक सिंह बिष्ट र अनुराग शाह छन् भने अन्य नेविसंघका नेताहरुमा जिनेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकाय छन् ।

स्ववियु निर्वाचन समितिले गरेको ‘अवैध’ निर्वाचन प्रक्रियामा प्रत्यक्ष/परोक्ष रूपमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीहरूलाई स्पष्टीकरण सोधिएको अनुशासन समितिले जनाएको छ।

त्रिविका आंगिक क्याम्पसमध्ये आर आर क्याम्पसमा स्ववियु निर्वाचन निर्विरोध सम्पन्न गरिएकोमा नेविसंघका सभापति उम्मेदवार विनोदराज जोशीले विमति जनाएका छन् ।

अन्ततः नेविसंघको अनुशासन समिति भने माउ पार्टी नेपाली कांग्रेसले म्याद थप नगरेको तदर्थ समितिका अध्यक्ष दुजाङ शेर्पाले बनाएको हो ।

कांग्रेसले शेर्पा अध्यक्ष रहेको तदर्थ समितिलाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । कांग्रेसकै पदाधिकारी बैठकले तोकिएको समयमा महाधिवेशन सम्पन्न नगरे तदर्थ समिति भङ्ग गर्ने चेतावनी पनि दिएको थियो ।

पार्टीले म्याद थप नगरेको तदर्थ समितिका अध्यक्ष शेर्पाले बनाएको अनुशासन समितिले उनीहरूलाइ स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएकामध्ये एक केन्द्रीय सदस्य अनुराग शाहले नेविसंघ केन्द्रीय समितिको कार्यकाल चैत ३१ गते नै सकिएको र वैधानिकता समाप्त भइसकेको समितिले स्पष्टीकरण सोध्न नसक्ने उल्लेख गरेका छन्।

चैत ५ गते निर्धारित स्ववियु निर्वाचन विद्यार्थी संगठनहरुको विवादका कारण आरआरमा पटकपटक स्थगित भएको थियो । अदालतको आदेशपछि निर्वाचन सम्पन्न गर्नैपर्ने दबाब भएपछि क्याम्पसमा दर्ता भएका संगठनहरुको सहमतिमा निर्विरोध स्ववियु घोषणा गरिएको थियो ।

वैशाख १७ गते रत्नलक्ष्मी क्याम्पसमा सहमतिमा स्ववियु निर्वाचन भएको थियो ।

जसअनुसार निर्विरोध निर्वाचन प्रक्रियाबाट अनेरास्ववियुका लोकेश खड्का अध्यक्ष, अखिल क्रान्तिकारीका संगम लामा उपाध्यक्ष र नेविसंघका शैलेन्द्र उपाध्याय सचिव निर्वाचित भएका छन् भने अन्य पद र सदस्य पनि सबै संगठनले निर्विरोध घोषणा रूपमा गरिएका थिए ।