काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघले सरकारसँग गरेकाे ९ बुँदे सहमतिलाइ अस्वीकार गरेको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन्।
महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि हिजो सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो ।
फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ ।
‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
थप कार्यक्रम समीक्षा बैठक पश्चात् सार्वजनिक गरिने समेत सो सङ्गठनले जनाएको छ।
