काठमाडौं । करिब एक महिनादेखि आन्दोलनरत शिक्षकहरुकाे सडक आन्दोलन फिर्ता भएको छ । बुधबार सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।
शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुबीच नौ बुँदे सहमति भएको थियो । उक्त सहमतिसँगै सडक आन्दोलन फिर्ता लिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
शिक्षक आन्दोलन स्थगित भएसँगै करिब एक महिनादेखि अलपत्र शैक्षिक गतिविधि सुचारु हुने भएकाे छ । बिहीबार मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा भएका कारण शुक्रबार मात्रै विद्यालय खुल्ने भएका हुन् ।
शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको हाे ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको जनाएको हो।
महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि काठमाडौं केन्द्रित सडक प्रदर्शन फिर्ता लिएको जनाइएको छ ।