काठमाडौं । सरकार र शिक्षक महासंघबीच आज दिउँसाे हुने वार्ता निर्णायक हुने अपेक्षा गरिएकाे छ ।
दुबै पक्षले सोमबार र मंगलबार बसेको बैठक सकारात्मक भएको बताएका छन् । यसर्थ आज दिउँसो बस्ने वार्ता निर्णायक हुने अनुमान गरिएको हाे ।
महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ । सरकार र महासंघबीच लगातार छलफल र संवाद पनि चलिरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको बताए।
उनले सम्भव भएसम्म छिटो वार्ता टुंगोमा पुर्याइने पनि बताए।
गलबार बेलुकी शिक्षा मन्त्रालयमा मन्त्री पन्तसहित शिक्षक महासंघका वार्ताकारहरूसँग छलफल भएको थियो।
उक्त छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै शिक्षा मन्त्री पन्तले नेपाल शिक्षक महासंघसँग वार्ता सकारात्मक दिशामा अघि बढेको र सम्भव भएसम्म छिटो वार्ता टुंगोमा पुर्याइने बताए।
मंगलबार बेलुकी ८ बजेदेखि करिब दुई घन्टा शिक्षा मन्त्रालयमा महासंघसँग वार्ता भएको थियो।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित वार्ताकारहरूसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री पन्तले कुराकानी गरेका थिए।
गत सोमबार पनि शिक्षक महासंघसँग मन्त्री पन्तले छलफल गरेका थिए ।
विगतमा सरकार र महासंघबीच भएको सहमतिअनुसार तत्काल विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
यसैबीच अहिले सत्तापक्ष दलहरूको बैठक बस्दैछ।
बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठकमा शिक्षकहरूको आन्दोलन र उनीहरूका माग, चिकित्सकहरूको आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ।
साथै, बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा पनि छलफल हुनेछ ।