आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंका निजी विद्यालयलाई छात्रवृत्तिकाे विवरण पेस गर्न महानगरको निर्देशन

बुधबार, बैशाख १७ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ ।

काठमाडौं महानगरले एक एक सूचना जारी गरी महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा गर्नुपर्ने स्मरण गराएको छ । महानगरले शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशतमा नघट्ने गरी ऐन बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयमा सूचना निकाली आवेदन लिइ यही जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

महानगरपालिकाले छात्रवृत्ति छनोटको नामावली छनौट समितिको निर्णय मान्य हुने जनाएको छ । छनौट समितिमा सम्बन्धित वडाको वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य– संयोजक, विद्यालयको प्रधानाध्यापक– सदस्य, महानगरपालिका शिक्षा विभागको सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक/शिक्षा अधिकृत– सदस्य र विद्यालय व्यवस्थापन समितिमा रहेका अभिभावक प्रतिनिधि १ जना– सदस्य रहने छन् ।छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट मात्र वितरण गर्नु पर्ने महानगरको भनाइ छ ।

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था गरिएको छ ।