विराटनगर । मोरङ जहदाकी २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान ‘मर्निङवाक’ जान्छु भनेर घरबाट हिँडेकी ती युवती बाँसघारीमा हातखुट्टा बाँधिएको अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।
उनको मुखमा उनले ओढेको सल कोचिएको थियो । उद्धारपछि ती युवतीको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
उनीमाथि हातखुट्टा बाँधेर जबर्जस्ती करणी भएको प्रहरीले आशंका गरेको छ । सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन ।
मोरङ प्रहरी प्रमुख, एसपी नारायण चिमरियाले सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।