काठमाडौं । साइबर अपराधको कसुरमा प्रहरीले शोभा पाठकलाई पक्राउ गरेको छ ।
राजकुमार त्रिपाठीको जाहेरीमा पाठकलाई सोमबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “त्रिपाठीले उनीविरुद्ध गत मङ्सिर २८ गते जाहेरी दिएको र उनलाई पक्राउ गरिएको हो ।” यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
पाठकले यसअघि एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध समेत मुद्दा मामिला गरेकी थिइन् । बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेको आरोपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो ।
उनले यसअघि पनि विभिन्न व्यक्तिसँग विहे गर्दै रकम लिएर छाड्ने गरेको आरोप छ ।