काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ को किँरातचोक नजिक बागमती नदी किनार आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ भेटिएको छ । उनले आफ्नै कारणले आत्मदाह गर्न बाध्य भएको लेखेकी प्रहरीले जनाएको छ ।
शरीरमा पेट्रोल छर्केर आगो लगाएर जल्दा गम्भीर घाइते भएकी ३८ बर्सिया कमला आचार्यको उपचारको क्रममा निधन भएको थियो। प्रहरीले श्रीमानको मोबाइल नम्बरसमेत लेखिएको सुसाइड नोट घटनास्थल नजिकै फेला पारेको थियो।
उनको १३ र ३ वर्षका छोराहरू छन्। सुसाइड नोटमा आफ्नो कारण श्रीमान् र छोराहरूले दुख पाएको लेखिएको एक प्रहरीले जानकारी दिए। उनले ‘म कसैलाई दुःख दिन चाहन्न’ भन्दै श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ भनेर लेखेकी थिइन्।
शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आइतबार साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
उपचारका लागि उनलाई अस्पताल लगिए पनि अधिकांश शरीरको भाग जलेकाले उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उल्लेख गरेको छ ।