काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । वेस्ट इन्डिजका क्रिकेट खेलाडी लारा शुक्रबार बिहान नेपाल आइपुगेका हुन् ।
नेपाल प्रिमियर लिगको अवलोकनका लागि लारा नेपाल आउन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कार गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् ।
लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।
५५ वर्षीय लारा अन्तर्राष्ट्रिय क्रिकेटका सर्वकालीन सफल ब्याट्सम्यानका रुपमा परिचित छन्। उनले विश्व क्रिकेटका धेरै रेकर्ड आफ्नो नाममा लेखाएका छन्। पहिलो श्रेणीको क्रिकेटमा व्यक्तिगत उच्च स्कोरको कीर्तिमान उनको नाममा छ।
इङ्ल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा उनले सन् २००४ मा नटआउट ४०० रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमै साउथ अफ्रिकाविरुद्ध सन् २००३ मा एकै ओभरमा २८ रन बनाउँदै अर्को कीर्तिमान रचेका थिए।
उनकै कप्तानीमा २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो। जुन सन् १९७९ विश्वकप क्रिकेटको उपाधिपछिको ठूलो उपाधि मानिन्छ ।
उनले टेस्ट क्रिकेटमा ३४ सतक र ४८ अर्धसतकसहित ११ हजार ९५३ रन बनाएका छन्। एकदिवशीय क्रिकेटमा १९ सतक र ६३ अर्धसतक प्रहार गर्दै १० हजार ४०५ रन बनाएका छन्।