काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउन छलफल थालेको छ । आफ्नै नेता कार्याकर्ताहरुले एकपछि अर्को गर्दै पार्टी छाड्ने क्रम चलिरहेका बेलामा एमालेबाट असन्तुष्ट नेताहरुलाई पार्टीमा ल्याउनेगरी नेकपा एसले छलफल थालेको हो ।
दुई नेतासँग अध्यक्ष माधव नेपालसहित नेकपा एसका शीर्ष नेताहरुले पटकपटक भेटेर वार्ता गरिसकेका छन् ।
अध्यक्ष नेपालसँगको भेटमा वामदेवले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए प्रवेश गर्न तयार रहेको बताएको बुझिएको छ । तर, अहिले पार्टीको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् ।
गौतम एमालेमा फर्किन पनि तयार छन् । तर, एमालेले वास्ता नगरेपछि उनी दोधारमै छन्। तत्कालीन नेकपा भित्रको विवादपछि गौतमले उपाध्यक्ष पदबाट राजीनामा दिएर एकता अभियान चलाएका थिए । तर, उनको अभियान भने सफल हुन सकेन । आफैँसँग भएका नेता–कार्यकर्तासमेत जोगाउन नसकेपछि उनी आफैँ सहाराको खोजीमा देखिन्छन्। तत्कालीन नेकपा पनि नेता गौतमकै कारणले फुटेको कतिपय नेताहरुको आरोप छ, तर त्यो स्वीकार्न उनी तयार छैनन् ।
यता एमालेको दशौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका रावल एमालेमा भूमिकाविहीन छन् । उनी एमालेमै रहे पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन ।
नेता रावल र वामदेवलाई पार्टीमा भित्र्याउन सके पार्टी संगठन बलियो बनाउन सकिने नेकपा एसको बुझाइ छ । यता एकीकृत समाजवादीकै धेरै नेताहरु नेतृत्वप्रति असन्तुष्टि जनाउँदै एमालेमैमै फर्किने तयारीमा रहेको बुझिएको छ ।
स्रोतका अनुसार उनीहरू माउ पार्टी एमालेमै फर्किने तयारीमा छन् । तर, यसबारे कुनै ठोस निर्णय भने भइनसकेको नेताहरू बताउँछन् ।