शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

शिक्षामन्त्रीको माग : ‘गृहमन्त्रीज्यू त्रिवि असुरक्षित भयो, सुरक्षा प्रबन्ध मिलाइयोस्’

बुधबार, भाद्र ५ २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग गरेकी छन् । उनले गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् ।

गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कारबाही गर्नसमेत उनले माग गरेकी छन् । ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ,’ मन्त्री भट्टराईले बुधबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

त्रिविका पदाधिकारीहरूमाथि हमला गर्न खाेजेकाे र प्राध्यापकहरूलाई फाेनमा धम्की दिने गरेकाेले उनले सुरक्षाकाे माग गरेकी हुन्। आफूले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेकाे कुरासमेत उनले जनाएकी छन्।

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद हुँदा आक्रमणको धम्की आएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार हाल बिदामा छन् ।

विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा छन् । रेक्टर प्रा.डा. खड्ग केसी गत बुधबार र रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित छैनन् । पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित भएका छन् ।

बिदा बसेका पदाधिकारीले सुरक्षा थ्रेट र स्वास्थ्यमा समस्या भएको बताएका छन् । सुरक्षा प्रबन्ध भए कार्यालय जान सक्ने उनीहरूको भनाइ छ । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पदाधिकारीलाई ख्याल गरेर आउजाउ गर्न सुझाव दिएको थियो ।

आफूले सार्बजनिक अपिल गर्नु पर्ने भएर नै गरेको बताउँदै मन्त्री भट्टराईले कुनै आवेगमा आएर नलेखेको बताएकी छन्। उनले विगत ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको समेत बताएकी छन् ।