बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बुधबार, बैशाख १२ २०८१

काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खाल बस्ने ईश्वर न्यौपानेको गाई फर्ममा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब १८ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली सर्भिस ट्याकस्थित सडकमा मनोहराबाट लोकन्थलीतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०२–०४३ प ७०७७ नम्बरको ईलेक्ट्रोनिक स्कुटरमा ब्याट्रीबाट सर्ट भई सोमबार राति आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर क्षति भएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२० स्थित शिव कत्था उद्योगको गोदाममा सोमबार बिहान आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा सुनौलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.४ख ८६१७ नम्बरको केमिकल बोकेको ट्रकमा मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट ट्रक र ट्रकमा रहेको केमिकल जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।
भोजपुरको भोजपुर नगरपालिका–८ बस्ने भरत कार्कीको घरमा मंगलबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको सम्पूर्ण सामानहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगर बस्ने रामकेबल महतोको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।