काठमाडौं । भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । उनी पेशाले मोटरसाइकल मिस्त्री मेकानिक भएको खुलेको छ ।
ढकालको हत्यामा संलग्न उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनु भनि आफूलाई फोन आएको पीडितले प्रहरी वृत्त जगातीमा उपस्थित भइ सूचना दिइकी थिइन् ।
अनुसन्धानको क्रममा सुवालले हत्या गरेको पाइएपछि पक्राउ गरिएको हो । उनी घटनापश्चात फरार भएका थिए । उनलाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नम्बर–६ बाट पक्राउ गरेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित रोशन बस्नेतको गोठमा गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेका थिए ।
उनको साथबाट ढकालको मोवाइल र ज्याकेट बरामद भएको छ ।