काठमाडौं । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ।
आजको खेल नेपाली समय अनुसार राति ९:४५ बजे प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा हुनेछ।
वाफ च्याम्पियनसिपमा शानदार खेल प्रदर्शन गरेको नेपाल यो पटक उपाधीको बलियो प्रतिस्पर्धी हो ।
नेपाल र जोर्डन फाइनलसम्म आइपुग्दा अपराजित छन् ।
समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
आजको खेलमा नेपालकी फरवार्ड सावित्रा भण्डारी सहभागी नहुने भएकी छिन्। उनले जारी प्रतियोगितामा नौ गोल गरेकी थिइन् । आज नेपाली टोलीका प्रिति राई, समिक्षा घिमिरे, अमृता जैशी लगायतका खेलाडीको प्रर्दशनलाई महत्वका साथ हेरिएको छ ।
यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल भने १०५ औं स्थानमा छ ।
जोर्डनले पाँच पटक उपाधि जितिसकेको छ । भने नेपाल पहिलो पटक उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।