मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सत्ता गठबन्धनमा खटपट

मंगलबार, फाल्गुन १ २०८०

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन पार्टीको लागि लाभदायक नभएको बताएका छन्।

अध्यक्ष प्रचण्डले कांग्रेसको रबैया ठिक नभएको टिप्पणी गर्दै गठबन्धनमाथि नै विचार गर्नुपर्ने अवस्था आएको बताए। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गत निर्वाचनदेखि राष्ट्रियसभा सदस्यको निर्वाचनसम्म आइपुग्दा कांग्रेसबाट पटक-पटक धोका पाएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा प्रचण्डले गरेका सम्बोधनलाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘कांग्रेसले सुरुबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सिटबाट ३२ मा झर्‍यौँ । हामीले इमानदारीपूर्वक कांग्रेसलाई भोट दियौँ, तर उनीहरूले दिएनन् । कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभा सदस्य पनि गुमाउनुपर्‍यो, किनकि कांग्रेसले नै अन्तर्घात गर्‍यो । यो प्राकृतिक गठबन्धन पनि होइन । कांंग्रेसले पटक-पटक धोका दिँदै आएकाले गठबन्धनको विषय विचारणीय प्रश्न हो । तर, गठबन्धनबारे अहिले नै निर्णय गर्न उपयुक्त समय आएको छैन । शान्ति प्रक्रियालाई पूरा गर्न बाँकी छ ।’

पटक-पटक धोका पाएको विषयमा प्रभावकारी समीक्षा भने गर्नुपर्ने अवस्था आएको र सरकार सञ्चालनमा पनि कांग्रेसले सहजतापूर्वक नसघाएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले बैठकमा भन्नुभयो, ‘सरकार सञ्चालनका लागि पनि गठबन्धनका कारण कम्फर्टेबल स्थिति छैन । मन्त्री हेरफेर गर्नका लागि धेरैपटक प्रयास गरे पनि कांग्रेस तयार भएन । यसमा पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको छ ।’

प्रचण्डलाई कांग्रेसको जवाफ स् ‘गठबन्धन फलदायी बनाउन तेस्रो दललाई नेतृत्व दिएको हो’
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको दाबी गरेको छ ।

प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको टिप्पणी गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको स्पष्ट पार्दै भने, ‘हामीले गठबन्धन फलदायी बनाएकै छौँ । कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौँ ।

माओवादीसँगको हाम्रो सहमति सम्झौताअनुसार नै अगाडि बढिराखेका छौँ । अगाडि बढ्न तयार छौँ । माओवादीलाई कहाँनिर गठबन्धन अनकम्फर्टेबल बसेर छलफल गरौँला ।’

यता सत्तारुढ अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने गठबन्धनमा कुनै खटपट नभएको बताउँदै आएका छन् ।