काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउण्डभित्र च्याम्पियन फुटवेयर स्थापना गरेर चौधरी समूहले सरकारलाई हानि गर्ने नियतले २६ लाख लगानी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
शुक्रबार सिआइबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २५ प्रतिशत सेयरको मूल्य साढे १२ लाख रुपैयाँ मात्र पर्ने भए पनि बाँसबारीले २६ लाख मूल्य बराबरको १० रोपनी जग्गा दिएको दाबी गरेको हो ।
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिसँग च्याम्पियन फुटवेयरमा २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो । कम्पनीको चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पु-याइएपछि बाँकी अरू पक्षबाट ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाइएको छ ।
सिआइबीले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत सेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ ।
शुक्रबार सिआइबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरीलगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको बताएको हो ।
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको जानकारी दिए ।
उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण चौधरीको नाममा आएपछि तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडलाई ०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको बताए ।
चौधरीले ०५४ पुस ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको उनको भनाइ छ । त्यसपछि च्याम्पियन फुटवेयर प्रालिको नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको उनले भने ।
बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारको दरले मूल्यांकनको आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको उनले बताए । उनले च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाख रुपैयाँ मात्र देखिएको दाबी गरे ।
उनले २५ प्रतिशत सेयरको मूल्य साढे १२ लाख रुपैयाँ मात्र पर्ने भए पनि बाँसबारीले २६ लाख मूल्य बराबरको १० रोपनी जग्गा दिएको बताए। उनका अनुसार कम्पनीको चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्याइएपछि बाँकी अरू पक्षबाट ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाइएको छ ।
यसका जानकारहरु लहरो तान्दा पहरो थर्किने भएपछि अहिले चौधरीलगायतलाई छुटाउन राज्य सम्यत्र नै लागि परेको बताउन थालेका छन् ।
यता उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सिजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा व्यापारी सांसद चौधरीविरुद्ध सरकार लागेको आरोप लगाएको बैठकमा रहेका एक सांसदले जानकारी दिए । बाँसबारीमा जग्गा विधि र प्रक्रियासंगत लिएको, नियमसंगत लिएको भए पनि सरकारले व्यापारीमाथि अहिले आएर प्रतिशोध साँधेको चौधरीको भनाइ छ ।
उनले बैठकमा पूर्व जानकारी नदिई एक्कासि पक्राउ गरिएको भन्दै गृह प्रशासन र सीआईबीको आलोचना गरेका थिए। अवैध रूपमा विदेशमा लगानी बढाएर पुँजी पलायन गरिरहेको आरोप लाग्दै आएका विनोदले बैठकमा आफ्ना साथीहरूले असुरक्षित व्यवसाय किन गर्ने भन्दै सुरक्षित मुलुक रोजौँ भने पनि आफू देश भनेर बसेको तर अहिलेको व्यवहारबाट चकित परेको दाबी गरेका थिए।
यसै गरी कांग्रेस संसदीय दलको बैठकमा पनि चौधरीले आपत्ति जनाए । उनले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै भने, ‘सरकारले यसै किसिमको गतिविधिमा मीनबहादुर गरुङ जस्तो व्यक्तित्व, जसले नेपालमा भाटभटेनीको नामबाट एउटा नयाँ ट्रेन्ड स्थापित गरे, उनीसँग पनि त्यस्तै व्यवहार गर्यो । आज यो व्यवहार अरुण चौधरीसँग दोहोरिएको छ । यस्तै किसिमको मानसिकता क-कसमाथि दोहोरिनेछन् कसैले भन्न सक्दैन ।’
उनले आफूले देशको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउन योगदान गर्न सकिन्छ भन्ने विश्वासका साथ काम गरिरहेको उल्लेख गर्दै आर्थिक विकास र रुपान्तरणमा योगदान गर्न कटिबद्ध भएर लागिरहेको बताए । स्रोतका अनुसार उनी बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत यस विषयमा प्रधानमन्त्रीसँग कुरा गरेको स्रोतले बतायो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार अहिले जग्गाको स्वामित्व जसको नाममा भए पनि यो सारा प्रकरण विनोद चौधरीकै योजनामा भएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको ती अधिकारीले बताए ।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा सिजीको चाँदबाघले नियमविपरीत निजीकरण गरेको भन्दै बिहीबार प्रहरीले विनोदका भाइ अरुणलाई पक्राउ गरेको थियो । अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद दिएको छ ।