काठमाडौँ – काठमाडौं महानगरपालिकाले युनिक सेक्युरिटीज कम्पनीबाट १ सय ६२ जना नगर प्रहरी करार सेवामा नियुक्ति गरेको छ । उनीहरूलाई सेवा सुविधा दिंदा विद्यमान सरकारी व्यवस्था र श्रम ऐन विपरीत तलव, सेवा सुविधा दिई श्रम शोषण गरेको गुनासो बाहिर आएको छ । महानगरपालिकाले २०७९ भदौ ८ गते करार सेवामा नगर प्रहरीका लागि टेण्डर आव्हान गरेको थियो ।
उक्त टेण्डर अनुसार, सबै प्रक्रिया पूरा गरी वडा १४ स्थित बल्खुमा रहेको द.न. १२२६९÷२०५७÷५८ को सेक्युरिटीज सर्भिस प्रालिकाबीच सम्झौता भएबमोजिम एक वर्षका लागि जनशक्ति करारमा लिइएको हो । मासिक ४ करोड ३२ लाख ४० हजार ६ सय ६५ रूपैयाँ भुक्तानी गर्नेगरी करार सेवामा लिने सहमति भएको थियो । यसमा दैनिक ८ घण्टा डियुटी, सातामा एकदिन विदा, मासिक २० हजार ५ सय ३२ रूपैयाँका दरले तलव उपलव्ध गराउने सम्झौता दुवै पक्षका बिचमा भएको छ । वार्षिक रुपमा एक महिनाको तलव थप दिने, राशन, पोशाक र अन्य सुविधा उपलव्ध गराउने सहमति भएको थियो । एक वर्ष सम्झौताको समयावधि २०८० कार्तिक ७ गते सकिइसकेको छ ।
तर, पुन समयावधि थपिएको छ । जसमा महानगरीय प्रहरीलाई सम्झौता बमोजिमको नेपाल सरकारले तोके बमोजिम न्यूनतम तलव नदिएको गुनासो बाहिर आएको छ । दशैं भत्ता वापत २० हजार ५ सय ३२ रूपैयाँ उपलब्ध गराउनु पर्नेमा १५ हजार मात्र दिएको बताइएको छ । महानगरीय प्रहरीको पोशाक लगाएर करार सेवाका सुरक्षाकर्मीले कमाण्ड गर्ने व्यवस्था कानून बमोजिम नरहेको स्रोतले बताएको छ । तर, महानगरले तोकिए बमोजिमको पोशाक र लत्ता कपडा उपलब्ध नगराएको, उपलब्ध गराएको लत्ताकपडा पनि गुणस्तरीय नरहेको पीडितहरुले बताएका छन् । सामाजिक सुरक्षा कोषकट्टा पुरै अवधिको नगरेको, सुरूको तीन महिना ट्रायल अवधिको नपाउने भनेर महानगर प्रशासनले टार्दै आएको छ । कोषकट्टा रकम जम्मा नगरेको, घाइते, अपाङ्गको बीमा दाबी नगरिएको, राशन भत्ता बापत नेपाल प्रहरीले पाउने रकम बराबर नदिएर रू. ५ हजार १ सय ५१ मात्र दिएको लगायतका गुनासो महानगरीय प्रहरीले गर्दै आएका छन ।
करारमा लिइएका प्रहरीहरूले फुटपाथ व्यापार नियन्त्रण, अनियमित घर टहरा व्यवस्थापन, अनियन्त्रित लाइनका तारहरूलाई व्यवस्थित गर्ने काममा खटिदै आएका छन । विज्ञापन बोर्ड व्यवस्थित, ट्राफिक व्यवस्थापन, प्रदुर्षण नियन्त्रण, पार्किङ व्यवस्थापन, रूखका हाँगाबिगा छाँटकाँट, सडक पेटी मर्मतलगायतका काममा उनीहरुलाई खटाइएको बताइन्छ । साइकल तथा गाडा व्यापार व्यवस्थापन लगायतका काम उनीहरुले गर्दै आएका छन ।
यसैक्रममा माइतीघरको राष्ट्रिय झण्डा राख्दा धेरै महानगरीय प्रहरी घाइते भएको र त्यसको उपचारको बीमा रकम पाउन नसकेको गुनासो पीडित नगर प्रहरीले गर्दै आएका छन । २०७९ बैशाखमा महानगरपालिका नेतृत्वमा मेयरमा बालेन्द्र साह आएपछि अढाइ सयभन्दा बढी नगर प्रहरी करार सेवामा भर्ति गरेको स्रोतले बताएको छ । त्यसअघि महानगरले १ सय ६२ जना नगर प्रहरी एकै पटक करारमा भर्ति गरेको थियो ।
त्यसअघि महानगरमा १ सय ७० जना मात्रै नगर प्रहरी कार्यरत रहेका थिए । फुटपाथ अतिक्रमण नियन्त्रण र शहरी व्यवस्थापनमा सो जनशक्ति पर्याप्त नभएको निष्कर्ष निकालेर यसकै आधारमा जनशक्ति थप गरेको थियो । काठमाडौँ महानगरले नयाँ फेस प्रहरी भर्ति गर्ने भन्दा पनि आउट सोर्सिङबाट सेवा करारमा लिंदा नगर प्रहरीले सरकारले तोकेबमोजिमको सेवा र अन्य सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।
निजी क्षेत्रबाट करारका सुरक्षाकर्मी लिंदा उनीहरुले माग बमोजिमा सेवा पनि दिन सकिरहेको छैन । कम्पनीसँग सम्झौता गरेर महानगरका राजनीतिक प्रतिनिधिहरूले बिचमा कमिशन लिएर उनीहरुको श्रम शेषण गरेको आरोपसमेत लाग्दै आएको छ । साँघु साप्ताहिकबाट