मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सिआईबीले थाल्यो रवि लामिछाने र जीवी राई मुछिएको सहकारी घोटलासम्बन्धी अनुसन्धान

सोमबार, माघ ८ २०८०

काठमाडौं । गृहमन्त्रालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणको छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) लाई निर्देशन दिएको छ ।

सिआईबीले लामिछाने र राई जोडिएका सहकारी घोटलाको उपत्यका र उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा रहेका फाइलसमेत मगाएको स्रोतले बतायो ।

अभियन्ता युवराज (पौडेल) सफलले लामिछाने र गोरखा मिडिया नेटकर्वका अध्यक्ष जिबी राईविरुद्ध उजुरी दिएका छन् ।

सहकारी ऐनभन्दा बाहिर गएर गरिएको कारोबारमा मुछिएको भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष राई र तत्कालीन एमडी लामिछानेविरुद्ध सफलले दुई दिन सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।

विभागमा उजुरी दर्ता गराउँदै उजुरीकर्ता सफलले सहकारीबाट कर्जा प्रवाह गर्दा गरिएका सम्झौता तथा निर्णयबारे सक्कल कागजात झिकाई आवश्यक छानबिन गर्न माग गरेका छन् ।

‘जीबी राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा कायम रहेको बेलामा गैरकानूनी रुपमा सहकारीबाट रकम लिएर आजको दिनसम्म सहकारीको रकम नतिरी सहकारी ठगी, रकम हिनामिना समेत गरेको देखिन्छ । मिडियाका अध्यक्ष जीबी र एमडी रवि लामिछानेले गैरकानूनीरुपमा कम्पनीमा कर्जा लिएर नतिरी हजाराैं बचतकर्ताको खुन र पसिनामाथि खेलवाड गरेको अवस्था छ । अत निजहरुले उल्लेखित सहकारीबाट लिएको करिब ५२ करोडको सावाँ ब्याजसहितको हालसम्मको रकम सहकारीलाई फिर्ता गराउनसाथै हदैसम्मको कारवाही गर्न यो निवेदन पेश गरेको छु’, सफलको उजुरीमा लेखिएको छ ।

रवि र जीवीको समूहले पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोप छ ।

लामिछाने र राईविरुद्ध यसअघि सहकारी विभाग काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा उजुरी परिसकेको छ ।