साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट पाठक अध्यक्षमा चयन भएका हुन ।
नयाँ नेतृत्वका लागि छ जना सञ्चालक निर्वाचित भएपछि बसेको पहिलो बैठकले पाठकलाई लघुवित्तको अध्यक्षमा चयन गरेको हो । संस्थाको सञ्चालकहरुमा डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त निर्वाचित भएका छन् । नयाँ सञ्चालक समितिको कार्यकाल चार वर्षको रहने छ ।
ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थाहरु मार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. गत असार २४ गते मर्ज भएका थिए ।
७७ जिल्लामा सेवा पुगेको यस वित्तीय संस्थाको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँ पुगेको छ । पाँच सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी एक हजार छ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार आठ सय ७५ परिवारमा संस्थाको सेवा पुगेको छ । दलित ११ प्रतिशत, जनजाती ३९ प्रतिशत र अन्यको ५० प्रतिशत सहभागिता रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ ।