काठमाडौँ । तपश्वी भनिएका रामबहादुर बम्जन पक्राउ परेका छन्।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बूढानीलकण्ठ क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरेको हो ।
विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो ।
केही समययता उनी त्यहाँ आउनेजाने गरिरहेका थिए । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए । प्रहरीका अनुसार उनी दुई तलाबाट हाम फालेर भाग्ने प्रयास गर्दा समातिएका थिए । उनलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।
बम्जन २०६२ जेठदेखि पाँच वर्ष निराहार तपस्या गर्ने भन्दै बाराको जंगलमा बसेका थिए। तर, ध्यान शुरू गरेसँगै उनी विवादमा तानिए। २०६७ साउनमा हलखोरिया जंगलमा च्याउ टिप्न गएका बारा, मनहर्वाका १७ सर्वसाधारणलाई नियन्त्रणमा लिई बम्जन र उनका अनुयायीले कुटपिट गरेपछि विवादको आकार बढ्दै गएको थियो।
सर्वसाधारणमाथि हातपात र बन्धक बनाउने उनको शृंखला रोकिएन। २०७१ भदौमा निजगढका युवाद्वय उत्तिम गुरो र सोनम कुमरलाई पनि उनीहरूले मादक पदार्थ सेवन गरी जथाभावी बोलेको आरोपमा रातभर चारकोसे हलखोरिखा जंगलमा बाँधेर राखेका थिए।
त्यसरी बन्धक बनाएको थाहा पाएर पुगेका स्थानीयवासी र बम्जनका अनुयायीबीच झडप हुँदा बम्जनका चालक रूपबहादुर थिङ र अनुयायी लमजुङका समीर गुरुङ र नागराज नामका एक बालक घाइते भएका थिए। यसपछि बन्धक बनाइएका युवकहरूलाई बम्जन समूहले छाडेको थियो।
बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।
प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेनन् ।