काठमाडौँ । नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा आज विमर्श सभा गर्दै छ ।
कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो ।
राष्ट्रियता र प्रजातन्त्रप्रति अटल आस्था राखेर आजीवन संघर्ष गरेका किसुनजी नेपाली राजनीतिका एक आदर्श व्यक्तित्व र सन्त नेताका रूपमा परिचित छन् । भट्टराई (वि.सं.१९८१-२०६७, राजनीतिक नामः किशुनजी) नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात्का पहिलो प्रधानमन्त्री थिए । उनी वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए।
सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन् । दिउँसो १ः१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री नीलाम्बर आचार्य र विश्लेषक सिके लालबिच विशेष अन्तरक्रिया हुनेछ ।
उनीले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर-उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरे ।
भट्टराई वि.सं. २०१५ सालमा संसद्को तल्लो सदन प्रतिनिधिसभाका सभामुख भएका थिए । भट्टराई विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व उनले सफलतापूर्वक बहन गरेका थिए । तर, आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा उनी काठमाडौंबाट पराजित भएका थिए ।
पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै जीवनको अन्त्य तिर उनले नेपाली कांग्रेस परित्याग गरेका थिए ।