काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ धक्का दिएर जनताको पक्षमा काम गर्ने बताएका छन् ।
आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री बनेको तेस्रो कार्यकालको एक वर्ष पूरा हुन लागेको उपलक्ष्यमा धक्का दिएर देश र जनताको पक्षमा काम गर्ने तयारी रहेको बताए ।
‘मेरो तेस्रो कार्यकाल एक वर्ष पूरा हुँदैछ । एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर, अघि यहाँ हाम्रो मुख्यमन्त्रीजीले क्रमभंग भन्नुभयो, म साँच्चै क्रमभंग गर्दैछु । त्यतिबेला आम नेपाली जनताको साथ हुने कुरा पनि म विश्वास व्यक्त गर्न चाहन्छु,’– उनले भने ।
प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको समेत स्मरण गराए ।
उनले भने, ‘नेपाल अध्यारोमात्रै छ । सबैतिर उज्यालो कहीपनि छैन । नेपाल बस्न लायक देश होइन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म ४०० केभीको सव स्टेशन उद्घाटन गरेको ऐतिहासिक दिनमा भन्न चाहन्छु यो भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्छु । नेपाल उज्यालो छ । धेरै सम्भावना छ । हाम्रो प्रकृति भूगोल, सम्पदा र जनशक्ति धेरै गर्न सकिन्छ यो विश्वास जनतामा जगाउनुछ हामीले एकताको बलमा नयाँ आत्मविश्वास जगाउने काम सुरू गरेको छ ।’
प्रधानमन्त्रीले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका गाउँसहरमा पु¥याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए ।
उनले भने, “वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी रु १५ अर्बभन्दा बढी आम्दानी भई राज्यकोषमा दाखिला हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिकरुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ ।”
देशमा विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण गरी भरपर्दो र गुणस्तरयुक्त विद्युत् आपूर्ति गर्न र भारत तथा बङ्गलादेशसँगको विद्युत् व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित देशकै दोस्रो ठूलो इनरुवा सबस्टेसन उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीले बताए ।