धनुषा । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।
हँसपुर नगरपालिका–५ सुगानिकास खरयानी टोलका मण्डलको प्रहरीको कुटपिटबाट मृत्यु भएको स्थानीयले आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय सुगानिकास घेराउ गर्दै तोडफोड र आगजनी गरेका छन्।
हंसपुर नगरपालिका-५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी उनी छुट्याउन पुगेको बेला ६५ वर्षीय मण्डल कुटिएको र उपचारको क्रममा उनको मृत्यु भएको भनिएको छ ।
सो विषयलाई लिएर बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।
सयौंको संख्यामा रहेका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । त्यसक्रममा एक जनालाई गोलीसमेत लागेको खवर छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।