काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिका–६ पाण्डेछापस्थित नन्द कुमार महर्जनको नन्दु कृषि फर्म एण्ड रेष्टुयरेन्टमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा स्कुटर १ थान, ग्यास सिलिन्डर ४ थान, फ्रिज ४ थान, मिक्चर २ थान, सिसाको टेबल ५ थान, प्लास्टिकको कुर्सी ८० थान, सोलार ब्याट्री ३ थान, सिसिटिभि क्यामेरा ४ थान, पानी ट्याङ्की १ थान गरी करिब ५ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
इलामको देउमाई नगरपालिका–३ पानीटार बस्ने नविन खत्रीको घर र गोठमा विद्युतको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजार बस्ने महेश भट्टको घरको दोस्रो तलामा तेज बहादुर बोहराले संचालन गरेको शुभलाभ फेन्सी पसलमा शनिबार राति आगलागी हुँदा सोही घरमा रहेको रामदत्त जोशीको शिशिर फेन्सी र शान्ती प्रसाद जोशीको कैलपाल मेडिकलमा समेत आगलागी हुँदा पसलभित्र रहेका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको विवरण हाल खुलेको छैन ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२० रेडक्रस चोक बस्ने मिन बहादुर चोखाल र ईश्वरी प्रसाद पाध्याको गोठमा शनिबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नयन्त्रणमा लिमुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।