काठमाडौं । बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग समृद्विका लागि संकल्प अभियान आज पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै अभियानको समापन गरेका हुन् ।
ओली आज बिहान सदरमुकाम फिदिमबाट हेलिकप्टरमार्फत नेपाल– भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए ।
झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झण्डा-उत्तोलन गरी गरेका हुन् ।
मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट(चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शीलालेखको अनावरणसमेत गरे ।
‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिढीको समय खेर गएको छ,’ अध्यक्ष ओलीले भने, ‘सङ्कल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।’
एमाले चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको अध्यक्ष ओलीले बताए ।