काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा महंगो पर्ने भएको छ । प्रधानमन्त्री पुत्री गंगा दाहालको भूमिकामा सांसद अमरेश कुमार सिंहले गम्भीर प्रश्न उठाएलगत्तै गजुरेलको राजीनामा बाहिर आएको हो । गजुरेलले राजीनामा दिएको ५ दिनपछि प्रसंग बाहिरिएको हो ।
गजुरेलले राजीनामा दिने बेलामा अर्थात मंसिर २० गतेको आसपासमा नेपालमा एनसेलको खरिदविक्रीको विषय चर्को विवादमा थियो । एनसेलको अनियमिततामा प्रमुख दलका शीर्ष नेताहरु नै संलग्न छन् भन्ने आरोप लागिरहेका बेला गजुरेल सरकार भ्रष्टाचारमा संलग्न भएको भन्दै राजीनामा दिन पुगेका हुन् । त्यसले गर्दा प्रचण्ड अहिले गजुरेलको राजीनामा स्वीकृत गरिहाल्ने अवस्थामा रहेका छैनन् तर गजुरेल पनि फर्किने अवस्थामा छैनन् ।
सार्वजनिक रुपमा सरकारसँग भएका असहमतिलाई बताउन थालेपछि उनी फर्किने संभावना कम रहेको देखिन्छ । गजुरेलले मुख खोलेर यो यो एजेण्डामा असहमति रहेको त बताएका छैनन् । तर, छोरी गंगा दाहालको भूमिकामाथि भने गम्भीर प्रश्न उठाएका छन् ।
अनौपचारिक रुपमा भने गजुरेलले माओवादी प्रचण्डले सुन प्रकरणमा पार्टी नेताहरुलाई बचाएकोप्रति असहमति राखेका छन् ।
बर्षमान पुन, कृष्णबहादुर महरालाई कारबाहीमा ल्याउनुपर्ने गजुरेलको मत रहेको थियो तर त्यसमा प्रचण्ड बचाउमा लागे । उनी बचाउमा लागेपछि गजुरेलको कुरा पनि सुन्न छोडेका थिए । त्यतिबेलादेखि असन्तुष्ट भएका गजुरेल एनसेल प्रकरणमा भएको विवादमा पनि प्रचण्डको संलग्नताको कुरा उठ्यो ।
हरेक ठूला घोटालामा छोरी गंगा दाहालको डिल हुन थालेपछि गजुरेलले प्रचण्डसँग बस्न नचाहेको बताइन्छ । त्यसो त, प्रचण्डले पनि उनलाई नजिकमा राख्नेभन्दा पनि जागिर दिनेमात्रै काम गरेको पनि सिंहदबारमा चर्चा हुने गरेको छ ।
छोरी गगा दाहालकै कारण चुनावमा टिकटसमेत खोसिएका गजुरेलको असन्तुष्टि कम गर्न प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।
मंसिर २० गते राजीनामा दिएकै बेला प्रचण्डले भने मौखिक रुपमा स्वीकृत गरेका थिए । गजुरेलकै भनाइमा त्यतिबेला पार्टीमा भूमिका दिने भनेका थिए । अहिले पछिल्ला दिनमा भने राजीनामा स्वीकृत नभएको बताउन थालिएको छ ।
राष्टियसभाको चुनाव, गठबन्धनमाथि विभिन्न प्रश्न उठेको र प्रचण्डकै भूमिकामाथि प्रश्न उठेको बेलामा सरकारको प्रतिरक्षा गर्नुपर्ने पोजिसनमा भएको व्यक्तिले राजीनामा दिनु प्रचण्डका लागि भने निकै महंगो पर्ने देखिन थालेको छ । साँघु साप्ताहिकबाट