काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहिएको फलको संज्ञा दिँदै आफै झर्ने बताएका छन् । अध्यक्ष ओलीले आफ्नै कारणले गठबन्धन भत्किने टिप्पणी गरेका हुन् । उनले कांग्रेस र माओवादीलाई विदेशीले मिलाइ दिएको जिकिर गर्दै विदेशीले बनाइदिएको सरकारबाट देश बन्न नसक्ने बताए ।
उनले आगामी चुनावमा पार्टीले एकल बहुमत ल्याउन जनतासँग प्रत्यक्ष भेटघाट गरिएको उनको भनाइ थियो । सोही अनुसार सिंगो पार्टी नेतृत्व अभियानमा लागेको उल्लेख गर्दै ओलीले आगामी निर्वाचनमा कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्न नसक्ने जिकिर गरे । ‘आगामी निर्वाचनमा एक्लै एमालेसँग लड्न त के हेर्न पनि सक्दैन’, ओलीको भनाइ थियो । ओलीले एमालेलाई सिध्याउन देश दुनियाँ लागिपरे पनि अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ लोकप्रिय मत ल्याएर प्रमाणित गरिसकेको पनि बताए ।