काठमाडौं । एनसेल सेयर बिक्री प्रकरणविरुद्ध सर्वोच्च अदालतमा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन लगातार हेर्न नभ्याइनेमा परेको छ ।
शुक्रबार दर्ता भएको उक्त रिट निवेदन आइतबारदेखि लगातार तीन दिन हेर्न नभ्याइनेमा पर्दै आएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको रिट निवेदनमा पालो नआएपछि मंगलबार पनि हेर्न नभ्याइनेमा पर्यो । न्यायाधीश ढुंगानाको इजलासमा २५ थान मुद्दा परेका थिए । तीमध्ये १३ वटा मुद्दा हेर्न नभ्याइनेमै परेका छन् ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ ।
सांसद सिंहले सेयर खरिद बिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका थिए ।
आइतबार पनि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा हेर्न नभ्याइनेमा परेको सो मुद्दा सोमबार पनि विनोद शर्माको एकल इजलासमा परेको थियो तर हेर्न भ्याइनेमा पर्यो ।
सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको विज्ञप्ति प्रकाशन गरेपछि विवाद भएको हो ।
कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानि पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद-बिक्री भएको दाबी गर्दै प्रतिनिधिसभाका सदस्य सिंह आफैँले रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार रिट दर्ता गराएका थिए ।
स्वतन्त्र सांसद सिंह एनसेल खरिद बिक्रीविरुद्ध सर्वोच्चमा परेको मुद्दामा आफैँ बहस गर्ने तयारीमा छन् ।
मंसिर १३ मा मलेसियाको आजियाटा बर्दाह समूहले नेपालमा विदेशी लगानीका लागि राम्रो वातावरण नभएकाले बाहिरिने भन्दै एनसेलमा रहेको आफ्नो सम्पूर्ण सेयर बिक्रीका लागि राखिएको घोषणा गरेको थियो । सेयर बिक्रीका विषयमा नियामक दूरसञ्चार प्राधिकरणसँग पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्थाबारे भनी स्मरण गराउँदै प्राधिकरणले मंसिर १४ मा एनसेल आजियाटलाई पत्र काटेको थियो ।
यता नेपाल सरकारले पूर्व-महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एक छानविन समिति गठन गरी एनसेल आजियाटा प्रकरणका विभिन्न पक्षहरूको अध्ययन सुरु गरेको छ ।
प्रधानमन्त्रीकी छोरी गंगा दाहालमाथि आरोप
सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी तथा प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालमाथि विभिन्न आरोप लगाएका छन् ।
सांसद सिंहले आज आफ्नो सामाजिक सञ्जालमा गंगा दाहालले विभिन्न विषयमा व्यापारीहरुसँग पैसा लिने गरेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, कुन व्यापारीसँग कुन कुन मामिलामा कति पैसा लिएको भन्ने प्रमाण आफूसँग सुरक्षित छ । समय आएपछि प्रमाण जनता र मिडियामा लिएर जानेछु ।
स्वतन्त्र सांसद सिंहले एनसेल बाहेक अन्य प्रकरणमा पनि प्रधानमन्त्रीपुत्रीले व्यापारीसँग घुस लिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।
अमरेशले लगाएको आरोपमा गंगा दाहालमाथि छानबिन गर्न अनेरास्ववियुको माग
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीकी छोरी गंगा दाहालमाथि लगाइएको आरोपको छानबिन गर्न माग गरेको छ ।
विज्ञप्ति जारी गर्दै सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी दाहाललाई जोडेर लगाइका आरोपको छानबिन गर्नुपर्ने माग गरेको हो ।
प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएको विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले जारी गरेको विज्ञप्तिमा छानबिनको दायरामा ल्याई दोषी ठहर भए उनीउपर कानूनबमोजिम कडाभन्दा कडा कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
कार्यवाहक अध्यक्ष गोविन्द गिरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएका हुन् ।