आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वर्तमान सरकारले देशको इज्जत समाप्त पार्ने काम मात्र गर्‍याे : अध्यक्ष ओली

बिहिबार, मंसिर २१ २०८०

वागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् ।

बिहीवार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने उनको भनाइ थियो । उनले भने ‘यो सरकार लज्जाबोध नभएको सरकार हो । यसले राष्ट्रघाती काम गर्छ । यसले देशको इज्जत समाप्त पार्छ । यसले स्वाधिनता कमजोर पार्छ । स्वतन्त्रताको प्रयोग गर्न सक्दैन । राष्ट्रिय हीतको रक्षा गर्न सक्दैन । भूमिको बारेमा बोल्न सक्दैन । यस्तो सरकार हो । विकासका कामहरु एमालेको समयमा जुन भएका थिए । ति विकासका कामहरु ठप्प छन् । तैपनि यस्तो सरकार चलिरहेको छ । सरकार हौँ भनेर बसिरहेको छ । चल्न त के चल्नु र बसिरहेको छ ।’

अध्यक्ष ओलीले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको आरोप लगाए । उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।

सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशको स्वाधीनता कमजोर बनाएको ओलीले आरोप लगाए । अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उनले टिप्पणी गरे । ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ’, ओलीले भने।

अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको समेत बताए ।

साथै ओलीले नेपालमा प्राविधिक र मेडिकल कलेज खोल्न नदिने शैक्षिक माफियाहरू अहिले क्रियाशील रहेको बताए । मेडिकल कलेज नेपाल खोल्नु पर्छ र नेपालाई मेडिकल हब बनाउनुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको उनको भनाइ थियो ।