काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको छ ।
त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद-बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
सो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समितिमा डाकेर छलफल गरिने उनले बताए । ‘एनसेल खरिद-बिक्रीका जुन प्रक्रिया चलिरहेको छ यसलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय भयो,’ बैठकपछि सभापति पोखरेलले भने, ‘एनसेललगायत भ्रष्टाचार र अनियमिताका विषयमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णयसमेत भएको छ ।
एनसेल खरिद बिक्रीका क्रममा विद्यमान कानुनी व्यवस्थाको छिद्र खोजेर आर्थिक चलखेल भएको तथा प्रक्रिया मिचिएका विषयमा पनि गम्भीर हुन समितिले निर्देशन दिएको छ ।
एनसेल खरिद बिक्री सम्बन्धमा लेखा समितिले कम्पनी रजिष्टारको कार्यालय र दूरसञ्चार प्राधिकरणसँग छलफल गरेको थियो । उक्त छलफलपछि समिति सदस्यहरूको सुझावका आधारमा यस्तो निर्देशन दिइएको हो ।