काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् ।
महाकाली—मेची अभियानका क्रममा मंगलवार बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् ।
अवलोकनपछि पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए ।
उनले आयोजनाको काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता समेत जनाए । प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ उनले ध्यानाकर्षण गराए ।
अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।
भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना राष्ट्रिय गौरवका आयोजना हो।
बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मे.वा. जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।
तत्कालीन प्रधानमन्त्री ओलीको पालामा यो राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६/०१/०३ मंगलबार ‘ब्रेक थ्रू’ भएको थियो ।
यस आयोजना आव २०६८/६९ मा शुरु भएको हो ।