काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदै छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री आज साँझ स्वदेश फर्किने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते काठमाडौंबाट प्रस्थान गरेका थिए ।
शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताएका थिए ।
त्यही दिन प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गरेका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरेका थिए ।