काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ कि रहँदैन भन्ने आशंका रहेको दाबी गरेका छन्।
शुक्रबार डडेलधुरामा आयोजिच महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन रहिराखे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्ने बताए।
उनले ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए। उनले वर्तमान सरकार हल्लिरहेकोले सरकार ढाल्नु नपर्ने बताए। उनले नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको आरोप लगाए।
उनले भने, ‘यो गठबन्धन कथंकदाचित टिक्यो भने पनि सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्नेछ। यदि ०८४ को चुनावमा पनि नेकपा एमालेले एकल बहुमत ल्याएन भने देश रहन्छ कि रहँदैन? देश बर्बाद त भइसक्यो। अझै बर्बाद हुनेछ। त्यसकारण ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्छ। यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ। चर्याकमर्याक छ।’
‘यो सरकार कुनै समय आफैँ ढल्न सक्छ। यो कुनै खुट्टा भएको सरकार नै होइन। यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो। यसका कुनै सिद्धान्त छैन, नीति छैन। यो सरकार माओवादीको प्रचण्डको नीतिमा हिँड्न खोजेको छ, सकेको छैन। नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको छ,’ ओलीले थपे।