काठमाडौं । नेपाली वायुसेवाहरुलाई युरोपियन युनियन (ईयू)ले कालोसूचीमै राखेको छ । ईयूले आफ्ना सदस्य मुलुकहरुलाई १० वर्षदेखि लगाएको उडान निषेधलाई निरन्तरता दिएको छ । यसपटक ध्वजावाहक नेपाल एयरलाइन्सका कारण ईयुको कालोसूचीबाट बाहिर निस्कन नसकेको हो ।
इयुले नेपाल वायुसेवा निगमलाई देखाउँदै कालोसूचीलाई निरन्तरता दिएको छ । नेपालमा भएको स्थलगत अवलोकन तथा मूल्यांकनका आधारमा कात्तिक २८ मा बेल्जियममा भएको सुनुवाइबाट तयार पारिएको प्रतिवेदनका आधारमा कालोसूचीलाई निरन्तरता दिएको प्राधिकरणले जनाएको छ ।
इयु प्रतिनिधिमण्डलले भदौ २५ गतेदेखि २९ गतेसम्म नेपालमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र श्री एयरलायन्सको स्थलगत अवलोकन तथा मूल्यांकन गरेको थियो । कात्तिक २८ देखि ३० गतेसम्म ब्रसेल्समा तीनवटै निकायका प्रतिनिधि राखेर सुनुवाइ गरेको थियो ।
दुई अडिटका आधारमा बुधबार इयुले प्राधिकरण, बेल्जियमस्थित नेपाली दूतावाससहित सरोकारवालालाई प्रतिवेदनको सार पठाउँदै नेपाललाई सुरक्षा सूचीबाट तत्काल हटाउन नसक्ने जनाएको हो ।
युनियनले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा १० वर्षदेखि लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
प्रतिवेदनले निगमलाई युरोप उडानमा जानसक्ने गरी थुप्रै सुधार गर्नुपर्ने सुझाएको छ । उसले निगम नेतृत्व, प्रक्रियागत पद्धति तथा समग्र प्रणालीमा सुधार गरिनुपर्ने जनाएको छ ।
सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) पालना नगरेको, प्राधिकरणले वार्षिक गर्ने सम्परीक्षणमा औँल्याएका कमी कमजोरी सुधार नगरेको, सम्परीक्षण सूचीको गुणस्तर सुधार नगरेको, उडान समयको निश्चितता, हवाई कागजात व्यवस्थापन तथा सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको, वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको प्रतिवेदनमा उल्लेख छ ।