आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बिहिबार, मंसिर १४ २०८०

काठमाडौं- मकवानपुरको गढी गाउँपालिका–२ धवाडीपुलस्थित सडकमा प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको छेउबाट करिब १२ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ कुर्ले पाखा बस्ने ३४ वर्षीया रुपा स्याङतान र उनकै ५ महिनाको छोरा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको छ ।

काभ्रेको रोशी गाउँपालिका–११ डालाबेशीमा बा.४ ख ७५१८ नम्बरको बसले बा.प्र.०२–०२४ प ४०९२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका–११ बस्ने ६१ वर्षीया बिन्दा गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाजुराको हिमाली गाउँपालिका–६ बोल्ढिकमा लु.१.ज.४८२९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार मुगु खत्याड गाउँपालिका–९ नखर्जी बस्ने २८ वर्षीय मदन सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।