काठमाडौँ – क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। संसदीय सुनुवाइ समितिले आइतबारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित पौड्यालको नाम अनुमोदन गरेको हो।
यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो। समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताए। उनले पौड्यालविरुद्ध दुई वटा उजुरी परेको बताए।
यस्तै, क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधि नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको उनले जानकारी दिए।
संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूतको नियुक्ति गर्ने कानूनी व्यवस्था छ।