काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही आज देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाका मौसमविद् बताउँछन् ।
यसैबीच, देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।