काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ क अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार, शितलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।
यसरी नै मंगलबार जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मन्त्री निवास पुल्चोक क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेको छ ।
यता काठमाडौं प्रशासनले सोमबार मात्रै माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
७ मंसिरमा युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको छुट्टाछुट्टै शक्ति प्रदर्शनको कार्यक्रमको पूर्वसन्ध्यामा प्रशासनले यो निर्णय गरेको हो ।