शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मेजर सुदिपमाथि यसकारण खनिँदै सैनिक अधिकारीहरु

आइतबार, भाद्र २४ २०८०

नेपाली सेनाका मेजर सुदिप अर्यालको कामकारबाही र गतिविधिलाई लिएर फौजभित्रका अधिकांश बेखुश देखिन्छन् । उनका कतिपय क्रियाकलापसँग सेनाको उच्च नेतृत्व जोडिएको सन्दर्भसमेत बेलाबखत बाहिरिने गरेकाले आगोमा घिउको काम भएको बताइन्छ ।

मिडियाले यसअघि धेरै पटक काठमाडौं–निजगढ फास्ट ट्रयाकको ठेक्कापट्टामा अर्यालको हात रहेको र स्लोप प्रोटेक्सनको काम उनैले अर्का जर्नेल विकास पोखरेलसँगको साँठगाँठमा मुक्ति शर्मालाई दिएको तथ्यसमेत सार्वजनिक गरेको थियो । अहिले प्राप्त पछिल्लो समाचार विवरणमा मेजर अर्यालको शर्मासँगको सम्बन्धबारे थप स्पष्ट पारिएको छ ।

स्रोतले सैनिक नेतृत्वपछि त्यसबारे रक्षा सचिवतर्फ पनि आफ्नो आशंका तेर्साएको छ । ‘रक्षा सचिवज्यूले सुदिपलाई आफ्नो कार्यालय (मन्त्रालय) मा थमौती गर्न खोजेमा उक्त आशंका सतप्रतिशत पुष्टि हुने’ बताइन्छ । उनले मन्त्रालयको महत्वपूर्ण सूचना चुहाएको,विदेशीहरुसँग विशेषगरी छिमेकी राष्ट्रका व्यापारिक सम्बन्ध भएकाहरुसँग व्यक्तिगत र विशेष सम्बन्ध राखेको भन्दै सेनाको रक्षा समन्वयमा उनी अनुपयुक्त भएको दाबी गरिएको छ । मुलुकको सुरक्षासँग सम्बन्धित कतिपय संवेदनशील सूचनामा हुने पहुँच सजिलैसँग बाहिर जाने गरेकोतर्फ पनि स्रोतले उनीमाथि विशेष चासो र आशंका गरेको जानकारी दिएको छ ।

यता मेजर अर्याल वर्तमान जिम्मेवारीबाट आफैं हट्न चाहेको भन्नेहरु पनि भद्रकालीतिर भेटिएका छन् । तर नेतृत्वले उनी नभए रक्षासँगको सम्बन्ध अघि नबढ्ने बताएपछि अर्यालले एकाएक नाक फुलाउनु अस्वाभाविक पनि होइन ।

अर्कोतर्फ सेनामा टिकटक, फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा सैनिक पोशाक र गतिविधि झल्किने कुनै फोटो तथा फुटेज राख्न नपाइने नियम छ । राखेमा कारबाही हुने व्यवस्था छ । त्यस्तो कार्य आफूले मात्र होइन श्रीमती वा श्रीमान र परिवारका सदस्यले राखे पनि कारबाही हुन्छ ।

यसअघि पनि सोसम्बन्धमा धेरै जनामाथि कारबाही भएको थियो । श्रीमतीले टिकटकमा भिडियो राखेकै भरमा कर्नेल रबि केसी, मेजर भँडेल,क्याप्टेन धमलालगायत थुप्रैलाई कारबाही भएको नजिर छ । तर, उनै मेजरले रक्षासचिवसँग रारा घुम्न गएको फोटो फेसबुकमा राख्दासमेत कुनै कारबाही नगरिएको भन्दै केही अधिकृतले जनआस्थामार्फत् सेना प्रमुखसँग गुनासो राखेका छन् ।

उनीहरुको भनाई छ, ‘मेजर अर्यालले त्यस्तो के गरेका छन् चिफसाबले आफ्नो छोरोभन्दा पनि बढी छोपेर राख्नुपर्ने ? के उनले भनेका सबै कुरा साँचो हो ? मेजरको अगाडि किन जर्नेलहरु बोल्न सक्दैनन् ? के मेजर अर्यालले अरुको इच्छा र चाहना पूरा गराएकै हुन् ?’

उनीहरुले अर्यालले देखाएको ५५ लाखको गाडीको सन्दर्भ पनि जोडेका छन् । एक जना व्यक्तिको कारण पूरै संगठन र मुलुककै सुरक्षा प्रणालीको सूचना पहुँचमा आघात पुग्न सक्नेतर्फ बढी संवेदनशील बनेको उनीहरुको चासोले पुष्टि हुन्छ ।

सेनामा बढुवाको सिजन शुरु भएकाले हिजोआज रक्षा मन्त्रालय धाउने सैनिक उच्च अधिकृतहरुको संख्या पनि बढेको छ । जर्नेल अशोक सिग्देल प्रायः रक्षा सचिवको कार्यकक्षमा देखिनेमध्येका एक भएको मन्त्रालय स्रोत बताउँछ । अर्का जर्नेल तारा पाण्डे पनि यही मौसममा रुमल्लिएको धेरैको ठम्म्याई छ । जनआस्थाबाट