शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नक्कली भुटानी शरणार्थीबारे अनुसन्धान अघि बढाउने एआईजी ज्ञवालीको सरुवा

आइतबार, भाद्र ३ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको रोकिएको अनुसन्धान अघि बढाउने उपत्यका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीलाई हटाउने उद्देश्यसहित असमयमै एआईजीहरुको सरुवा गरिएको छ ।

साढे चार महिनामै सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्नुको पछाडि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गहिराइसम्म नपुर्यानु हो ।

आईजीपी बसन्त कुँवरले नचाहँदा नचाहँदै एआईजी श्यामलाल ज्ञवालीको निर्देशनमा पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई अनुसन्धानको दायरामा ल्याएर पक्राउ गरिएको थियो ।

मन्त्रीस्तरीय निर्णयबाट नक्कली शरणार्थीको फाइल अघि बढाएको देखिएपछि खाँणलाई पक्राउ गरिएको थियो । त्यसो त, आईजीपी कुँबरकै कतिपय सन्देशहरु पनि शंकास्पद छन् । तर, उनको सचिवालयले त्यसको खण्डन गरेको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा एआईजी सरुवाबारेसमेत छलफल भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा एउटा पक्षले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने माग गरेको थियो । पछिल्लो ६० केजी सुन तस्करी प्रकरणसँग जोडेर उनको राजीनामा मागिएको थियो । श्रेष्ठको राजीनामा माग्नुको पछाडि सभापति शेरबहादुर देउवानिकट प्रभावशाली नेता खाँणको गिरफ्तारीको आक्रोश थियो ।

प्रहरी स्रोतका अनुसार, कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञवालीलाई हटाउन दबाब दिइरहेका थिए ।