पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको विषय पुनः विवादमा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा ‘होल्ड’ गर्दा जलहरी राख्दा भ्रष्टाचार भएको विषयको सत्यतथ्य खुलेको छैन ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ । त्यसको त्यतिवेलाको मूल्य करिब आठ करोड रुपैयाँ हुन आउँछ । यही मुद्दामा बिहीबार संसद् बैठक नै अवरोध भएको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा एक सय आठ किलो सुनको जलहरी अनावरण गरेकी थिइन् । करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन् ।
जलहरीमा भ्रष्टाचार भएको भन्दै त्यतिवेलै विवाद भए पनि टुंगिन सकेको थिएन । निम्तिएको विवादको समयमै निरूपण नगर्दा पुनः विवादमा फसेको हो । अहिले फेरि यो विषय संसद्मा प्रवेश गरेर राजनीतिक रूप लिएको छ ।
जलहरी स्थापना गर्दा भ्रष्टाचार भएको भन्दै दुई वर्षअघि नै अख्तियारमा उजुरी परेको थियो । छानबिनका क्रममा अख्तियारले त्यतिवेलै निर्णय प्रक्रियामा संलग्न कोषका पदाधिकारी तथा कर्मचारीसँग बयान पनि लिएको थियो । तर, त्यसपछि लामो समय थप छानबिन नै नगरी अख्तियारले फाइल थन्क्याएको छ ।
राजनीतिक नेतृत्वसमेत जोडिएपछि अख्तियारले छानबिनमा आलटाल गरेको थियो । यद्यपि, यो विषय अझै पनि छानबिनकै प्रक्रियामा रहेको अख्तियारका प्रवक्ता भोला दाहाल बताउँछन् । उनी भन्छन्, ‘पशुपतिको जलहरीसम्बन्धीको उजुरी अख्तियारको छानबिनकै प्रक्रियामा छ । छानबिनको प्रक्रियामा रहेको फाइलका सम्बन्धमा थप बोल्न मिल्दैन ।’ नयाँ पत्रिकाबाट