काठमाडौं – माछापुच्छ्रे बैंकले बिज्ञप्ती जारी गर्दै मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बैंकले बिज्ञप्ती जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
बैंकले भनेको छ, ‘ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ, ‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँचनपुर्याई उक्त कारोबार हुन नसक्ने देखिन्छ ।’ बैंकले भनेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकिएको बैंकले जानकारी दिएको छ ।
ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी अपनाउन समेत आग्रह गरेको छ । माछापुच्छ्रे बैंक सरल र सुरक्षित तरिकाले ग्राहकलाई सेवा प्रदान गर्न कटिबद्ध रहेको पनि स्पष्ट पारेको बैंकको भनाई छ ।