काठमाडौं। कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतमा आजका लागि तोकिएको छ । यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको मुद्धामा आज बहस हुने भएको हो ।
प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।
सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए ।
०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
यसअघि सम्म सरेको पेसीमा आज बहस हुने सम्भावना बढी छ । न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरे अदालतीय प्रक्रिया मार्फत रेशम रिहाइको बहस सकिने छ ।
कानुन व्यवसायीहरू भने आज दुवै सम्भावना रहेको बताउँछन् ।